नियम ४०
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सीटको बाँडफाँट
(१) नियम ३९ को उपनियम (७) बमोजिम सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भए पछि नियम १३ बमोजिमको निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडी त्यस्तो दलले प्राप्त गरेको कुल मत सङ्ख्या यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दलले प्राप्त गरेको कुल सदर मतको आधारमा त्यस्तो निर्वाचन अधिकृतले ऐनको दफा ६० को अधीनमा रही दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गरी आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट सङ्ख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनु पर्ने सङ्ख्या समेत निर्धारण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सीट सङ्ख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट सङ्ख्याको कम्तीमा चार दशमलव तीन प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सङ्ख्या निर्धारण गर्नु पर्नेछ ।
(५) उपनियम (२), (३) र (४) बमोजिम सम्बन्धित दलले प्राप्त गर्ने र प्रतिनिधित्व गराउनु पर्ने सीट सङ्ख्या आयोगले स्वीकृत गर्नेछ ।